कोरियन भाषा परिक्षाको नतिजा साउन ११ मा हुने: ३१०० बिध्यार्थी उत्तीर्ण हुने ।
२७ असार २०७३, हिमालय टाइम्स ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको सातौं कोरियन भाषा परीक्षाको नतिजा आगामी ११ साउनमा प्रकाशित हुने भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य दक्षिण कोरिया जानका लागि लिइएको सातौं भाषा परीक्षाको नतिजा ११ साउनमा प्रकाशित गर्ने तयारी भइरहेको ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका प्रमुख डिल्लिराम बास्तोलाले गत ४ र ५ असारमा सम्पन्न भएको सो परीक्षाको नतिजा सार्वजनिक गर्ने कार्य करिब अन्तिम चरणमा पुगेको बताए ।
ईपीएस शाखाका अनुसार गत ४ र ५ असारमा काठमाडौं र पोखरामा सञ्चालन गरिएको सो परीक्षामा कुल ५७ हजार १ सयजना परीक्षार्थी सहभागी भएका थिए । यस वर्ष सो परीक्षाका लागि कुल ६० हजार ६ सयजनाले आवेदन फाराम भरेका थिए । जसमा ५ प्रतिशत मात्र परीक्षार्थी परीक्षामा सहभागी भएका थिएनन् ।
यस वर्ष दक्षिण कोरियाले कुल ३ हजार १ सयजना नेपाली प्रशिक्षार्थी कामदारलाई मात्र भाषा परीक्षामा उत्तीर्ण गराउने बताएको छ । भाषा परीक्षा उत्तीर्ण भएकाहरूको नाम रोस्टर लिस्टमा राखेर लेबर कन्ट्र्याक्ट दिने गरिएको छ । यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा करिब ६३ प्रतिशतले कम हो । गत वर्ष कुल ८ हजार ४ सय ९० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।
कोरियाको मानव संशाधन विकास (एचआरडी) ले निर्धारण गरेको अनुमानित उत्तीर्ण संख्यामध्ये उत्पादनमूलक क्षेत्रमा २ हजार १ सय र कृषि तथा पशुपालन क्षेत्रमा एक हजारजना निर्धारण गरेको सो शाखाले जनाएको छ ।
नेपाल सरकारले यस पालि दक्षिण कोरियासँग भाषा परीक्षामा सकेसम्म बढी उत्तीर्ण संख्या बढाउन आग्रह गरेकाले केही बढ्न सक्ने सो शाखाले जनाएको छ । कोरियाले यहाँ लिएका सबै परीक्षाका उत्तरपुस्तिका स्क्यानिङ मार्फत डिजिटजाज्ड गरेर कोरिया लगेको छ । उसले मेसिनको प्रयोग गरी ओसीआर प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने गरेको पनि सो शाखाले जानकारी दिएको छ ।

0 comments
Write Down Your Responses