राष्ट्रपतिले दिए ज्यान मुद्दाका प्रतिबदिलाई आम माफी ।


असार - २१, पोखरा ।
          राष्ट्रपति विद्या भण्डारीले ज्यान मुद्दामा दोषि ठहर एक अपराधीलाई माफी दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले हाल अर्घाखाँची कारागारमा रहेका रुद्रप्रसाद पराजुलीलाई बाँकी कैद सजायँ माफी दिएकी हुन् । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा चार वर्षअघि एक व्यापारीलाई गोली हानी हत्या गर्न खोजेको भन्दै पराजुलीलाई अदालतले दोषी ठहर गर्दै सात वर्ष कैद फैसला गरेको थियो ।                

         हाल अर्घाखाँची कारागारमा रहेका पराजुलीलाई बाँकी कैद सजायँ माफी भएको राष्ट्रपति कार्यालयबाट सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले सामान्यतया दशैँ र गणतन्त्र दिवसका अवसरमा असल चाल चालन भएका कैदीहरुको बाँकी सजायँ माफ गर्ने प्रचलन भए पनि असार २० गते बिना कुनै अवसर र पर्व माफीको निर्णय गरेको हो ।

    ०६९ फागुनमा सन्धिखर्कमा सुनचाँदी व्यवसायी संघका सचिवसमेत रहेका व्यापारी ताराबहादुर सुनारमाथि गोली हानेर हत्या प्रयासका मुख्य योजनाकार पराजुली थिए । सुनारमाथि सन्धिखर्क–गोरुसिंगे सडक अन्तर्गत नरपानीको जंगलमा गोली प्रहार भएको थियो । सुनारको बायाँ छातीको तल्लो भागमा गोली लागेको थियो । प्रहरीले घटनामा संलग्न भएको भन्दै कपिलवस्तु तिलौराकोट वर्मेली टोलका २५ वर्षीय सागर भन्ने राजु आचार्य र अर्घाखाँची पोखराथोकका २४ वर्षीय विमल भन्ने लक्ष्मण सुनारलाई पक्राउ गरेको थियो । राजु र लक्ष्मणले रुद्र पराजुलीले पेस्तोल दिएको र ताराको हत्या गर्न लगाएको बयान प्रहरीलाई दिएका थिए । सोही बयानका आधारमा प्रहरीले रुद्रलाई पनि पक्रेर अनुसन्धान अगाडि बढाएको थियो ।

            रुद्र र तारा दुबै सन्धिखर्क मिडिया चोकमा एउटै घरमा जोडिएको दुई वटा सटरमा व्यापार गर्दै आएका थिए । तारासँग लिएको ऋणका कारण रुद्रले उनको हत्या गर्ने षड्यन्त्र गरेको प्रहरी अनुसन्धानको ठहर थियो । राजु र लक्ष्मण जेलमै भए पनि राजनीतिक लबिङका आधारमा मुख्य योजनाकार पराजुली भने राष्ट्रपतिबाट माफी पाउन सफल भएका छन् ।

0 comments

Write Down Your Responses