उपत्यकामा गाडी र लजमै भयो २८२ बलात्कार ।


असार १९, २०७३, पोखरा  ।

            आपराधिक घटनाको प्रकृति र संख्याका आधारमा काठमाडौं, ललितपुर र भक्तपुरको १ सय ३० स्थान जोखिमपूर्ण देखिएका छन् । क्षेत्रगत आपराधिक गतिविधि, प्रवृत्ति र ३ वर्षको अपराधको संख्याका आधारमा यी क्षेत्र पहिचान भएका हुन् ।

आपराधिक घटना बढी हुने क्षेत्र पहिल्याउन प्रहरीमा दर्ता भएका उपत्यकाका तीन जिल्लाका ०७०/७१ देखि २०७३ जेठसम्मका आपराधिक घटनाको संख्या, संगठित आपराधिक समूह
सक्रिय रहेको क्षेत्र, अपराधको प्रवृत्तिलाई आधार मानिएको छ ।

महानगरीय प्रहरी कार्यालयको तथ्यांकअनुसार तीन जिल्लामा वार्षिक ६ हजार मुद्दा दर्ता हुने गरेका छन् । गत साउनदेखि जेठ अन्तिमसम्म ५ हजार ९ सय ९१ आपराधिक घटना प्रहरी कार्यालयमा दर्ता भए । दर्ता भएकामध्ये २ हजार ७ सय ८ सामाजिक अपराध, ७ सय ८७ संगठित र आर्थिक अपराध, ७ सय ६८ हत्या, ५ सय, चोरी चथा डकैती, ३ सय ५७ आत्महत्या, २ सय ५८ महिला तथा बालबालिकासम्बन्धी अपराध छन् । उपत्यकामा भएका अपराधमध्ये ३ तिहाइ संख्या काठमाडौंले ओगटेको छ । अपराधको ६ हजार मुद्दा दर्ता हुँदा काठमाडौंमा ४ हजार ५ सय, ललितपुर ७ सय हाराहारी र भक्तपुरमा ४ सयको हाराहारीमा देखिन्छ ।

गाडी र लजमा बलात्कार

तीन जिल्लामध्ये काठमाडौं संगठित अपराधको केन्द्र हो । ठमेल, नयाँबजार, सामाखुसी, चक्रपथ, गोंगबु, कलंकी, सुन्धारा, दरबारमार्ग, गौशाला, बौद्ध, न्युरोड संगठित आपराधिक गतिविधि बढी हुने क्षेत्र हुन् । तस्करी, हुन्डी, रकम असुली, संगठित आर्थिक अपराध, संगठित गुन्डागर्दी, लागूऔषध, डकैती, चोरी र मानव बेचबिखनमा प्रहरीले यही क्षेत्रबाट पक्राउ गरेको छ । ठमेल क्षेत्रमा पछिल्लो समय अवैध हतियार फेला पर्ने क्रम बढेको छ ।

काठमाडौंका गोर्कण, कपन, माछापोखरी, मुडखु, मनमैंजु, गोंगबु, सामाखुसी, रातोपुल, मालीगाउँ भत्केको पुल क्षेत्रमा बलात्कारका घटना बढी हुन्छन् । ललितपुरमा ठगी, गुन्डागर्दी, कालोबजारी, बलात्कार, अपहरणका घटना छन् । ललितपुरको झम्सिखेलमा पछिल्लो समय संगठित आपराधिक घटनामा संलग्नको सक्रियता बढी देखिन्छ ।

ललितपुरमा यो वर्ष २२ मुद्दा दर्ता भइसकेका छन् । गाडी र लजमा बलात्कार भएको उजुरीहरू बढी आउने गरेको ललितपुरका एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए । भक्तपुरमा बलत्कार, चोरी, लागूऔषध, सवारी दुर्घटना ठगीका घटना बढी हुन्छन् । यात्रुको आवतजावत बढी हुने नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी, गौशाला, गोंगबु, रत्नपार्क, ठमेल, क्षेत्रमा लुटपाट र डकैतीका घटना बढी छन् । पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, सुन्धारा, भक्तपुर दरबार स्क्वायर ललितपुर दरबार स्क्वायर क्षेत्रमा लागूऔषधसम्बन्धी अपराध बढी देखिन्छ ।

गोंगबु, माछापोखरी, स्वयम्भू र बौद्ध अवैध जडीबुटी र वन्यजन्तुका अंगको बढी कारोबार हुने क्षेत्र हुन् । दरबारमार्ग, कमलपोखरी, टोखा, ठमेल, नयाँ सडक, सुन्धारा क्षेत्र हुन्डी, मुद्रा तस्करीमा कहलिएका क्षेत्र हुन् । काठमाडौंको गोंगबु, बूढानीलकण्ठ, नयाँबस्ती, अत्तरखेल र दक्षिण ढोकामा हत्याका घटना भए । माछापोखरी, बालाजु चोक, वनस्थली अपहरण हुने क्षेत्र हुन् ।

६३ स्थान चोरीको जोखिममा

चोरी र डकैती संख्याका आधारमा चौथो श्रेणीमा भए पनि नियन्त्रणको चुनौतीका हिसाबले पहिलो अपराध रहेको प्रहरी अधिकारी बताउँछन् । गत साउनदेखि जेठसम्ममा उपत्यकाका ५ सय चोरीका घटनाको उजुरी प्रहरीसम्म आयो । ३ वर्षको चोरीका घटना र क्षेत्रगत विश्लेषण तीन जिल्लाका ६३ स्थानमा सबैभन्दा धेरै चोरी हुने गरेको देखिन्छ ।

कान्तिपुरले प्राप्त गरेको क्षेत्रगत आपराधिक तथ्यांकअनुसार, थापागाउँ, शान्तिनगर, मैतिदेवी, ज्ञानेश्वर, सेतोपुल, रातोपुल, ल्होत्से चोक, बाफल, गैरीगाउँ, डल्लु, कलंकी, बल्खु, कुलेश्वर, सुनारगाउँ, बाफल, सिनामंगल, गौरीघाट, बत्तीसपुली, सिफल, महाबौद्ध, न्युरोड, परोपकार र नरदेवीमा अन्य स्थानको तुलनामा चोरीका घटना बढी हुन्छन् ।

यसैगरी, काठमाडौंको माछापोखरी, गुम्बा, मनमैंजु, वनस्थली, धापासी, बूढानीलकण्ठ, आरुबारी, कपन र अत्तरखेल, लाजिम्पाट, ज्याठा, ठमेल, ढल्कु, रानीबारी, नयाँ बजार, पाँगा, नयाँ बजार र ढल्पा बढी चोरी हुने क्षेत्र हुन् । ललितपुरको पुल्चोक, कुपन्डोल, बखुन्डोल, सानेपा, धोबीघाट, एकान्तकुना, शान्ति चोक, धापाखेल, कुसुन्ती, नखिपोट, लुभु, चापागाउँ र झम्सीखेल चोरी हुने क्षेत्रको सूचीमा छन् ।
भक्तपुरको च्यामसिंह, डेकोचा, नासमना, इताछे, दूधपाटी, सुन्दरबस्ती, सूर्यविनायक, सिपाडोल, नलिनचोक, लोकन्थली, बालकोटमा बढी चोरी हुन्छ ।

प्रहरी अधिकारीका अनुसार नयाँ बस्ती बसेका स्थानमा बढी चोरी हुन्छन् । कामकाजी बस्ने बस्ती, विदेशी बस्ने क्षेत्रमा समेत चोरीका घटना बढी हुने गरेका छन् । ‘संख्याका आधारमा पटक–पटक चोरी हुने सानेपा क्षेत्रमा बढी विदेशी नागरिक बस्छन् । भैंसेपाटी र नख्खिपोटमा नयाँ बस्ती बढिरहेका छन्,’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले भने ।

पर्यटकीय गतिविधि बढी हुने, खोलाकिनार, मन्दिर रहेको क्षेत्रमा लागूऔषध कारोबार र सेवनकर्ताको समस्या देखियो । प्रहरीको तथ्यांकअनुसार बाफल, बल्खु, कलंकी, टेकु, टंकेश्वर, सिनामंगल, गौशाला, वाणभञ्ज्याङ, नागढुंगामा लागूऔषध कारोबार बढी हुने क्षेत्र हुन् ।

पर्यटकीय क्षेत्र वसन्तपुर, लगन, झोंछे र ठमेलमा पटक–पटक लागूऔषध कारोबारी पक्राउ पर्ने गरेका छन् । भीमढुंगा, कीर्तिपुरको चोभार र फर्पिङ, ठमेल र नयाँ बजार, तीनपिप्ले, काभ्रेस्थली, मुड्खु, ललितपुरको नक्खु खोला, कर्मनासा, इमाडोल फाँट, गोदावरी, लेलेमा लागूऔषधको समस्या बढी देखिन्छ । मित्रपार्क, कलंकी र कुलेश्वर, मैतिदेवी, रातोपुल, सेतोपुलमा कालोबजारी हुने क्षेत्र हुन् ।

नियन्त्रणको अवस्था ‘ठीकै छ’

उपत्यकामा अपराध नियन्त्रणको अवस्था कस्तो छ ? कान्तिपुरको जिज्ञासामा महानगरीय आयुक्त कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापाले भने, ‘ठीकै छ ।’ उपत्यकाको शान्ति सुरक्षाका लागि महानगरीय आयुक्त कार्यालयअन्तर्गत करिब १० हजार जनशक्ति छन् । त्यसमा करिब ६ हजार शान्ति सुरक्षा र अपराध नियन्त्रणमा खटिन्छन् ।

सामान्य प्रकृतिको अपराध अनुसन्धानको क्षेत्राधिकार डीएसपी प्रमुख हुने वृत्तसम्मलाई तोकिएको छ । गम्भीर प्रकृतिको अपराधको अनुसन्धानका लागि २ सय जनशक्ति रहेको महानगरीय प्रहरी अपराध महाशाखा छ ।

एआईजी थापाले संगठित अपराधसँगै चोरीका घटना केही बढी देखिएपछि विशेष टोली परिचालन गरी नियन्त्रणमा आएको बताए । अपराध नियन्त्रणका लागि सीआरभी, दैनिक पेट्रोलिङ, गस्ती, सीसीटीभीको प्रयोग बढाइएको उनले बताए ।

‘धम्क्याएर रकम असुली बढेको सूचना आएपछि अहिले विशेष टोली खटाएर यस्तामा संलग्नको पहिचान र पक्राउ गर्ने काम अगाडि बढेको छ,’ एआईजी थापाले भने, ‘प्रहरीसम्म आएका आपराधिक घटनाको अनुसन्धान राम्रो छ ।’

तथ्यांकमा अपराध

गत साउनदेखि जेठसम्म      :     ५,९९१
सामाजिक     :     ३,१९९
हत्या–भवितव्य ज्यान     :     ८२७
संगठित र आर्थिक     :     ५७३
चोरी र ठगी     :     ४६८
आत्महत्या     :     ४००
महिला–बालबालिका     :     २८२
सवारी     :     १६२
अन्य     :     ८०

,

0 comments

Write Down Your Responses