क्रिकेटको घरमा नेपालले रच्यो इतिहास : एमसीसीविरुद्ध नेपालको ४१ रनको शानदार जीत
५ साउन, २०७३, हिमालय टाइम्स
क्रिकेटको घर मानिएको बेलायतको लडर्स मैदानमा मार्लेबोन क्रिकेट क्लब एमसीसी क्रिकेट क्लबविरुद्धको मैत्रीपूर्ण एकदिवसीय खेलमा नेपाल ४१ रनले विजयी बनेको छ ।
२ सय १८ रनको लक्ष्य पाएको एमसीसी ४७.२ ओभरमा १७६ रनमा सिमित बन्यो ।
जर्ज अडेरले शतकीय पारी खेले पनि उनले आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन् । बसन्त रेग्मीको बलमा आउट हुनअघि उनले १०० रनको योगदान दिए ।
उनीबाहेक अन्य दुई खेलाडी खेलाडीले मात्र दोहोरो अंकमा रन जोडे । रिचार्ड विल्किन्सनले २० तथा स्टिभ क्लार्कले १६ रन बनाए ।
नेपालको जीतमा बलरहरु नायक भए । मध्यम स्कोर जोगाउने क्रममा सागर पुन र बसन्त रेग्मीले ३—३ विकेट लिए । त्यस्तै सोमपाल कामीले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो ।
नेपालका ब्याटसम्यानहरुले राम्रो शुरुवात गरे पनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् । सबै २० र ३० रनको बीचमा आउट भए ।
ओपनर ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए भने कप्तान पारस खड्काले ३० रनको योगदान दिए ।
नेपालको शुरुवात भने राम्रो भएन । अनिल मण्डल मात्र २ रन बनाइ आउट हुँदा नेपालले स्कोरबोर्डमा मात्र १८ रन जोडेको थियो ।
त्यसपछि आएका शरद भेस्वाकरले २७ रन बनाउँदै मल्लसँग मिलेर नेपालको इनिङ सम्हाले । उनी आउट भएपछि कप्तान खड्का र मल्लले अर्को साझेदारीको प्रयास गरे ।
तर, नेपालले दुई ओभरको अन्तरालमा मल्ल र खड्कालाई गुमायो । २३ औं ओभरको अन्त्यमा नेपालले ४ विकेटको क्षतिमा १०७ रन बनाएको थियो ।
त्यसपछि आएका सागर पुन र राजु रिजालले क्रमशः २६ र २४ रन बाएर स्कोरलाई डोर्याए ।
खेलको अन्त्यतिर बसन्त रेग्मीले तीव्र गतिमा रन बनाउँदै २४ रनको योगदान दिए । उनलाई २० रन बनाएका सोमपाल कामीले राम्रो साथ दिए ।
एमसीसीका लागि सिए ब्यारेट र केपी डचले २–२ विकेट लिए ।

0 comments
Write Down Your Responses