ललितपुरमा धमाधम पनिमुनी आलु फलाउँदै: मुल्य १० देखि १५ रुपैयाँ सम्म



ललितपुर– पानीमुनि आलु खेती गर्न सकिन्छभन्दा सायद कसैलाई विश्वास नलाग्न सक्छ । तर गोदावरी नगरपालिका टौखेलस्थित नेपाल बीउबिजन उत्पादन केन्द्रको फार्म हाउसमा पुगेर अवलोकन गर्ने हो भने त्यहाँ माटोमुनि होइन पानीमुनि आलु फलाएको दृश्य सहजै देख्न सकिन्छ ।


       नेपाल कृषि अनुसन्धान परिषद्मा तीसवर्षे नोकरी गरेर घरमै बसेका रामभरोष नेपालले सुरु गर्नुभएको यस प्रविधिप्रति सबै छक्क छन् । उक्त फार्म हाउस अवलोकन गर्न दिनदिनै यसप्रति चासो राख्ने व्यक्तिको लर्को नै लाग्ने गरेको स्थानीय बताउँछन् ।

       परिषद्मा वरिष्ठ प्राविधिक अधिकृतका रुपमा आलु महाशाखामा ३० वर्ष काम गरेको अनुभवको आधारमा यस पेसामा लागेको नेपालले बताए । फार्म हाउस सञ्चालनका लागि प्रतिवर्ष एक लाख ५० हजार भाडा तिर्ने गरी १० रोपनी जग्गा भाडामा लिएको उनी बताउँछन् । ‘मागबमोजिम उत्पादन गर्न सकेको छैन’ नेपालले भने । उक्त आलुको बीउ उत्पादनका लागि १२ आना मात्र जग्गा प्रयोग गरिएको छ ।

          वर्षको दुई पटक मात्र बीउ उत्पादन गर्न सकिने आलुको पाँचवटा जात रहेको जनाइएको छ । विशेष गरी यसरी उत्पादन हुने आलुमा खुमल उज्वल, जनकदेव, कार्डिनल, कुप्रेज्योति र डिजिरे कार्डिनल रहेको उनले बताए । यसरी उत्पादनका भएका आलुको बीउ कृषि विकास कार्यालय तथा कृषक समूहले खरिद गर्ने गरेको बताइएको छ । वार्षिक रुपमा एक लाख आलुको दाना उत्पादन हुने गरेकामा खरिदकर्ताको माग भने त्यसको छ गुणा बढी रहेको नेपालको दाबी रहेको छ ।

          उत्पादन भएका बीउ प्रतिकिलोमा नभई प्रतिदानामा बिक्री हुने गरेको छ । सानो दाना आलुको मूल्य १० र ठूलो दानाको मूल्य १५ का दरले बिक्री गर्ने गरेको उनले बताए । सानो दाना करिब १० ग्राम र ठूलो २५ ग्रामसम्म बीउ रहने गरेको छ । उक्त व्यवसाय सुरु गर्न ८७ लाख लगानी भएको उनको भनाइ छ । कृषि व्यावसायिक परियोजना सरकारको तर्फबाट ३५ लाख अनुदान तथा आव २०७०÷७१ मा जिल्ला कृषि विकास कार्यालयले दुई लाख अनुदान उपलब्ध गराएको कार्यालयका अधिकृत हरिप्रसाद पण्डितले जानकारी दिए ।

,

0 comments

Write Down Your Responses