राती केटी एक्लै देख्नै नहुने पोखराको एक सिरियल किलरको सनसनीपूर्ण यथार्थ >>>>



हिन्दी फिल्म ‘भिलेन’ मा एउटा अनौठो चरित्रको भिलेन थिए। जसले बिना उद्धेश्य मान्छे मार्ने काम गर्थे। भिलेन बनेका कलाकार रितेश देशमुखले आफूलाई कुनै मान्छे चित्त नबुझेपछि एकान्त ठाउँ पारी मान्छे मार्ने गर्थे।

         पोखरामा पनि यस्तै चरित्रको अपराधीलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले केही दिन अघि पक्राउ गर्‍यो। भारतीय नागरिक उनले धेरै महिलामाथि घातक प्रहार गरेको खुल्न आएको छ।

        महिलामाथि आक्रमण गर्ने सिलसिला ८ महिनाअघिबाट सुरु भयो। गत पुस ७ गते राति। नागढुंगाकी १८ वर्षीया एक युवतीलाई एक्लै हिँडेको बेला पछाडिबाट प्रहार गरियो। पोखरा–८ इन्द्रपुरी सडक छेउमा बेहोस अवस्थामा भेटिएकी ती युवतीलाई प्रहरीको पृथ्वीचोकस्थित सिआरभी टोलीले उद्धार गर्‍यो। यसअघि पनि यस्ता घटना बेला बेलामा हुने गर्थे। अन्य घटनामा जसरी प्रहरीले अनुसन्धान सुरु गर्नु अघि पीडितलाई सोध्ने प्रश्न सोधियो, ‘तपाईंलाई कोही माथि शंका छ ?’ ती युवतीले छैन भनिन्।

        प्रहरीले अनुसन्धान आफ्नै गतिमा अघि बढ्दै थियो। त्यो घटना सेलाउन नपाउँदै माघ १६ गते त्यस्तै प्रकृतिको घटनाले वडा प्रहरी कार्यालयलाई मात्र होइन कास्की प्रहरीलाई नै झस्क्यो। मोरङ घर भएकी सरस्वती लिम्बुको मालेपाटनस्थित एक घरको कम्पाउन्डभित्र शव फेला पर्‍यो। घटनाको परिणाम फरक भए पनि प्रकृति एउटै थियो। जसले गर्दा प्रहरीलाई जोड लगाएर सोच्न बाध्य पार्‍यो।

          अनुसन्धानमै जुटेको प्रहरीलाई एकपछि अर्को घटनाको चुनौती थपिँदै गयो। फागुनमा मात्र ४ महिलामाथि रातिको समयमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको विवरण कास्की प्रहरीमा आयो। रातिमा भएका ती घटना बैदाम प्रहरीको टाउको दुखाइ बन्यो। आफ्नो क्षेत्रमा एकपछि अर्को आक्रमणको घटनाले बैदाम प्रहरीलाई ज्वरो निकालेको थियो।

          नयाँ वर्ष लागे पनि सोही प्रकृतिको घटनाको सिलसिला रोकिएन। वडा प्रहरी कार्यालय बैदामले नयाँ प्रहरी प्रमुख इन्स्पेक्टर पाएको थियो। इन्स्पेक्टर वीरेन्द्र गोदारको ठाउँमा मोहनमणि अधिकारी आए। आफू आएपछिको मात्र नभएर इन्स्पेक्टर अधिकारीलाई विगतका घटनाको अनुसन्धान पनि पूरा गर्ने  जिम्मा काँधमा थियो।

          वैशाख १७  गते पोखरा–१७ बिरौटा शिशु निकेतन गल्लीमा २८ वर्षीया महिलामाथि त्यस्तै आक्रमण भयो। घटनाको प्रकृति पुरानै भए पनि बैदाम प्रहरीले फरक कडी फेला पार्‍यो। पीडित महिलाले मोटरसाइकलको रङ र एउटा मात्र नम्बर सम्झिन भ्याएकी रहिछन्। ५ नम्बर भएको कालो मोटरसाइकल भन्ने पत्तो पाएकी रहिछिन्। 

        त्यसपछि प्रहरीले सोही अनुसार खोजतलास सुरु गर्‍यो। त्यसपछि थप ८ जना महिलामाथि आक्रमणको घटना प्रहरीकहाँ आयो तर कसले गर्‍यो भन्ने पत्ता लागेन। प्रहरी स्रोतका अनुसार त्यो घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न बैदाम प्रहरीले धेरै जनशक्ति मात्र नभएर इन्धनमा १ लाख रुपैयाँ भन्दा बढी लगानी गर्‍यो। कार्यालयका वाहेक अन्य गाडी र मोटरसाइकलको साथमा प्रहरी पनि उतिकै परिचालन गरियो। बैदाम प्रहरी मात्र होइन जिल्ला र क्षेत्रबाट पनि प्रहरी खटियो। तर पत्ता लाग्ने कुनै आधार थिएन।

         त्यही रन्कोमा लागेकै बेला बैदाम प्रहरीले एउटा भारतीय नागरिकलाई शंकाको घेरामा राख्यो। अखिलेश झाको हस्तकलाको पसल गौरीघाटमा थियो भने उनी डिहिकोपाटन बस्थे। भारत मध्यप्रदेश शिवपुरी जिल्ला महल कोलोनी घर भएका ३१ वर्षीय झाको रेकीमा बैदाम प्रहरी लाग्यो। उनको चालढाल मात्र नभएर अन्य आधारले गर्दा पनि उनीलाई प्रहरीले शंकाको दृष्टिले हेर्‍यो।

          बिरौटा शिशुनिकेतन गल्लीनिर आक्रमणमा परेकी पीडितले भने अनुसार झाको मोटरसाइकल थियो। पीडितले भने जस्तै कालो रङको बाइक र एउटा अंक ५। झाको अपाचे बाइक ग६प ५२१० नम्बरको थियो। त्यसैमाथि उनी राति पसल बन्द गरे पनि अनावश्यक रुपमा अन्तै एक्लै हिँड्नु अर्को कडी प्रहरीको निम्ति थियो। प्रहरी धेरै दिन झाको पछि लागे। जति पनि घटना भए सबै बैदाम प्रहरीको क्षेत्रमा अनि झा पनि सोही ठाउँमा बाइकमा एक्लै डुल्ने गर्थे। एक दिन होइन दुई दिन होइन सधै एक्लै डुल्थे उनी।

          सोही क्रममा बैदाम प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा लियो। बैदाम प्रहरीले घटनाबारे के सोध्दै थिए झाले एकपछि अर्को घटना सबै ओकले। उनलाई याद भएसम्म ७/८ वटा घटना स्थलसहित सबै खुलासा गरे। बैदाम प्रहरी त्यति बेला छक्क पर्‍यो जब झाले स्मृति गुरुङलाई पनि आफैले हानेको भनेर कबुल गरे। जेठ २५ गते राति झा त्यसैगरी बाइकमा निक्लिए। पोखरा–८ मिलनपथनिर रहेको चौरमा पुगेका झाको आँखा एक्लै हिँडेकी सुम्नी भन्ने स्मृति गुरुङमा पर्‍यो। केही वर बाइक रोकेर झाले २१ वर्षीया स्मृतिलाई पछाडिबाट ढुंगाले हाने। स्मृति ठाउँको ठाउँमै ढलिन्। झा बाइक लिएर भागे। त्यसको भोलिपल्ट उपचारको क्रममा स्मृतिको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो।

         पक्राउ परेका झालाई ‘किन यसरी महिलालाई आक्रमण गर्दै हिँडेको ?’ भन्ने प्रश्न गर्दा झाको यस्तो उत्तर आयो जसले सबै प्रहरी दंग परे। ‘त्यसरी रातिराति केटी मान्छे एक्लै हिँडेको मलाई राम्रो लाग्दैन,’ झाले जवाफ दिए, ‘सबैलाई मर्ने गरी हानेको हुँ तर मरेनन्।’ हिन्दी फिल्म भिलेनका भिलेन रितेश देशमुखचाहिँ घरमा श्रीमतीसँगको व्यवहारबाट वाक्क भएर बौलाउँदै अरुमाथि आक्रमण गर्थे। तर अखिलेशले महिलाहरुमाथि आक्रमण गर्नुका पछाडि अरु पनि कुनै कारण होलान्, जुन अहिल्यै खुलेका छैनन्।

           प्रारम्भिक बयान लिएर बैदामले कास्की प्रहरीलाई जिम्मा लगाइदियो। कास्की प्रहरीले भदौ १६ गते जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य अघि बढाएको छ।

 (पत्रकार गिरी पोखरामा सेतोपाटी डटकमको सहयात्री पत्रिका समाधान दैनिकका संवाददाता हुन्।)

0 comments

Write Down Your Responses