होटल सोल्टीको चरम लापरबाही: डेजर्टमा सिसै सिसा:;



कार्तिक १३, २०७३- नेपालकै नम्बर वान, पाचँतारे होटल सोल्टी क्राउन प्लाजाको मेघामल्हर कन्फ्रेन्स हलमा बिहीबार साँझ कतार एयरवेजको कार्गो एजेन्सीहरुका लागि आयोजना गरेका अवार्ड कार्यक्रम थियो । कार्यक्रम सकिएपछि म कतार एयरवेजकै नेपालस्थित तीनजना एक्जिक्यूटीभसँग गफिदै रात्रीभोजमा सहभागी भए ।

मंगोलियन लाइभ किचन राखिएको भोजनपछि हामी सँगसँगै डेजर्ट (मिठाई) लिन स्टलमा गयौं । फलफूल र केकहरू पनि राखिएको डेजर्ट स्टलबाट हामीले बंगाली परिकार रसमलाई, इजिप्सीयन हलुवा ओम-अली लियौं ।
   
म अघि अघि अनि मेरो पछि लाइनमा बसेर डेजर्ट लिन पुगेकी एकजना कतार एयरवेजकी एक्जिक्यूटीभ रमाइरमाइ रसमलाई खाँदै थिइन् । मीठो डेजर्ट अनि तिहारको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा सबै फेस्टीभ मुडमा देखिन्थे । मीठा खाने परिकारसँगै रमाइलो महोल थियो ।



‘ओ..माई गड सिसा..!’ एकाएक ती एक्जिक्यूटीभले चपाउँदै गरेको मुख बिगार्दै र सावधानी अपनाउँदै भनिन्, ‘आऽऽऽ....सिसा आयो ।’ एकाएक हामी सबैको ध्यान उनको मुखतर्फ केन्द्रित भयो । मुखमा चपाइरहेको रसमलाई उनले हातमा थुक्दै ओम अली राखेको प्लेटमा फुत्त फालिन् । सेतो सिसा टलक्कै टल्कियो । सिसा प्लेटमा फालेको केही सेकेन्डमा उनले प्लेटमै थुकिन् । सेतो रसमलाईसँगै रातो रगत पनि देखियो । केहीबेर अघि रमाइलो गफमा भइरहेको भोजन ग्रहण कार्य निराशामा परिणत भयो । वरपरको टेबुलमा बसेका अतिथीहरुको ध्यान हाम्रो टेबुलतर्फ मोडियो । उनले रुमालले जिब्रो पुछिन्, सेतो रुमालमा रगत टाँसियो । (हेर्नाेस् तस्बीर )
     
मैले तत्काल त्यहींबाट सोल्टी होटलका महाप्रबन्धक उपल मजुम्दारलाई फोन लगाए । उनले फोन उठाए तर, दोहोरो कुरा गर्न सकिएन । कमजोर नेटवार्कका कारण सम्पर्क सफल भएन । मैले महाप्रबन्धक मजुम्दार, होटलका फुड एण्ड वेभरेज निर्देशक बलराम पाठक, एक्जिक्यूटीभ सेफ युवराज पोखरेल, सेल्फ तथा मार्केटीङ्ग निर्देशक साम्बा शाहलाई एसएमएस पठाइदिए । तीमध्ये महाप्रबन्धक मजुम्दार र एक्जिक्यूटीभ सेफ पोखरेलले कुनै जवाफ आएन ।


फुड एण्ड वेभरेज निर्देशक पाठकले तत्काल फोन गरी के भएको हो अनुसन्धान गर्ने वाचा गरे भने मार्केटीङ्ग निर्देशक शाहले राती साढे १० बजे ‘आफू घर पुगिसकेकाले शुक्रबार अफिस पुगेर जाँच्ने,’ भन्दै सूचना दिलाएकोमा धन्यवाद लेखेर पठाए ।

यो खबर एकैछिनमा स्टाफमार्फत् सोल्टीभित्र फैलियो । अर्का सेफ (सेकेन्डम्यान) राजीव श्रेष्ठ आए । उनले घटनाबारे जानकारी लिए । त्यहाँ खटिएका वेटरले प्लेट उठाएर लिएर गए । यो खबर कार्यक्रम आयोजना गर्ने कतार एयरवेजका मिडिल इस्ट, पाकिस्तान र इन्डियन सव–कन्टीनेन्ट कार्गो म्यानेजर माइक निकोल्सनका कानमा पनि पर्‍यो । उनले ‘नेपालकै सबैभन्दा ठूलो फाइभ स्टार होटलमा यस्तो देखिनु गम्भीर लापरबाही’ भने । कतार एयरवेजमा कन्ट्री म्यानेजर जयप्रकाश नाइर त यो घटना हुँदाका प्रत्यक्षदर्शी नै भए ।

घटनापछि राती फुड एण्ड वेभरेज निर्देशक बलराम पाठकले फोन गरेर घटनालाई गम्भीर रुपमा लिएको र छानबिन हुने बताए । शुक्रबार म फेरि रेडियो कान्तिपुरको वार्षिकोत्सवमा होटल पुग्दा उनले डेजर्ट तयार हुने भान्साको अवलोकन गराउँदै भने, ‘यो घटना हाम्रा लागि पाठ भयो, आइन्दा हामी डेजर्ट सिसाको ग्लासमा दिने छैनौं ।’



शुक्रबार साँझको भोजनमा फेरि त्यही डेजर्ट राखिएको थियो । तर सिसाको ग्लासमा थिएन । सिसा हटाइएको थियो ।

(सिसाले जिब्राे काटिएकी एक्जुकेटिभकाे नाम उनकै अनुराेधमा गाेप्य राखिएकाे छ ।)

0 comments

Write Down Your Responses