विद्यार्थीबीच झडप : प्रहरीसहित १० जना घाइते
बेसीशहर: लमजुङको सुन्दर बजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र एमाले निकट अनेरास्ववियुबीच झडप भएको छ ।
झडपका क्रममा प्रहरी सहित दर्जनौं विद्यार्थी घाइते भएका छन् । आसन्न स्ववियु निर्वाचनको विषयमा विवाद चर्किएपछि झडप भएको हो।
झडपका क्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक होमनाथ अधिकारीसहित नेविसंघ समर्थित नौ विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा नेविसंघका तीन छात्रा छन् । अनेरास्ववियुको आक्रमणमा परी घाइते भएका विद्यार्थीको थप उपचारका लागि टिचिङ अस्पताल काठमाडौंमा लगिएको छ ।
नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीले चुनावमा संयुक्त प्यानल घोषणा गरेपछि असन्तुष्टि जनाउँदै अखिलका विद्यार्थीले क्याम्पसमा आइतबार ताला लगाएका थिए । ताला खोल्ने विषयमा सोमबार बिहान वार्ता भएपछि कुरा नमिल्दा झडप भएको हो।
घटनामा संलग्न विद्यार्थीलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेर सदरमुकाम बेसीशहरमा ल्याएको प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलले जानकारी दिए ।
यसैबीच नेपाल विद्यार्थीसंघ लमजुङले घटनामा संलग्नलाई कारवाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ ।


0 comments
Write Down Your Responses