नेपाली बैज्ञानिकको दुर्घटनामा परी मृत्यु ।



ड्यालस (अमेरिका), १८ असार । अमेरिकामा एक नेपाली युवा वैज्ञानिकको दुर्घटनामा परेर निधन भएको छ ।गोरखा जिल्ला घर भई अमेरिकाको मिजौरी राज्यको कोलम्बिया शहरमा बस्दै आएका ३३ बर्षीय किरण लामिछानेको शुक्रबार सवारी दुर्घटनामा ज्यान गएको हो ।अमेरिकामा ‘रिसर्च साइन्टिस्ट’ का रुपमा कार्यरत लामिछानेलाई कार्यालयबाट साथीहरुसँग दिउँसोको खाना खाएर गाडी पार्किङ गरिएको स्थानमा निस्कँदै गर्दा कारले ठक्कर दिएको हो । टेक्ससबाट सञ्चालित हिमालय खबरका अनुसार, उनको शव पोष्टमार्टमको लागि स्थानीय हस्पिटलमा राखिएको छ ।

स्वर्गीय लामिछाने नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेका सहोदर भाइ हुन् । लामो समय टेक्सस बसेर अध्ययन गरेका ३३ बर्षीय किरण केही महिना अघिमात्र रोजगारीको सिलसिलामा मिजौरी राज्य पुगेका थिए । उनले वातावरण विज्ञानमा पीएचडीसम्मको अध्ययन युनिभर्सिटी अफ नर्थ टेक्ससबाट पूरा गरेका थिए ।नेपालमा छँदा लामिछानेले बिभिन्न कलेजहरुमा अध्यापनका साथै राष्ट्रिय योजना आयोगमा रहेर पनि काम गरेका थिए । उनका पत्नी र पाँच बर्षीय छोरा छन् ।

श्रोत: क्युबिक न्यूज 

0 comments

Write Down Your Responses