खुशी जिबन यसरी जिउनुस्: अनुपम टिप्स ।
असार २३, २०७३, पोखरा ।
समस्यालाई हावी हुन नदिऔं
ओठमा मुस्कान, आँखामा चमक, मुहारमा आत्मविश्वास वा उदास, निराश, हतास मुद्रा.... पक्कै पनि सबैलाई पहिलो दर्जाकै व्यक्ति मन पर्छ । कठिनभन्दा कठिन परिस्थितिमा पनि हाँस्ने–मुस्कुराउने र सकारात्मक सोच राख्ने व्यक्ति सबैको प्रिय हुन्छ । घर–कार्यक्षेत्रमा कुनै त्यस्तो व्यक्ति पक्कै हुन्छ जसलाई देखेर हाम्रो मुखबाट अनायासै निस्किन्छ ‘क्या राम्रो मान्छे छ ।’ हामी पनि उसले जस्तै जीवनको हरेक क्षणलाई रमाइलो, रोमाञ्चक र सुखद् बनाउन सक्छौं । मात्र आफूले जीवन जिउने दृष्टिकोण परिवर्तन गर्नुपर्ने हुन्छ । अफिस चाँडै पुगे पनि यति कम समयमा यति धेरै काम कसरी सम्भव छ ? भन्ने कुरा सोचेर बस्नुको साटो समयको सदुपयोग गर्न सिक्नु राम्रो हुन्छ ।
समस्याबाट भाग्नु हुँदैन
कठिन परिस्थितिमा पनि सकारात्मक सोच राख्ने व्यक्ति राम्रो अभिभावक मात्र नभएर सफल टिम लिडर पनि बन्न सक्छ । वित्तीय संकटमा बैंक व्यवस्थापकले स्थिति धेरै खराब छ, अब केही हुन सक्दैन, हाम्रो करियरको डुंगा कुनै पनि समयमा डुब्न सक्छ भन्ने कुरा जाहेर गर्छ भने उसको कुराले कर्मचारीहरूको काम गर्ने हौसला कम हुन्छ र उनीहरू परिस्थिति सुधार्ने प्रयाससम्म गर्न सक्दैनन् । यस्तो स्थितिमा सकारात्मक सोच राख्ने व्यवस्थापकले आफ्नो टिमको हौसला बढाउने, प्रेरित गर्ने र अन्तिम अवस्थासम्म पनि स्थिति सम्हाल्ने, सुधार्ने प्रयास गर्छन् । जसले समस्याबाट भाग्नुको साटो समाधान खोज्ने प्रयास गर्छ विजय उसकै हुन्छ, कारण जबसम्म व्यक्ति समस्याबाट भाग्छ तबसम्म समस्याले उसलाई पछ्याउन छोड्दैन ।
बाँचौं यसरी
कस्तो देखिनुहुन्छ, कस्ता पहिरन लगाउनुहुन्छ भन्ने भन्दा महत्त्वपूर्ण हुन्छ कस्तो सोच राख्नुहुन्छ ? आफ्नो कुरा कसरी व्यक्त गर्नुहुन्छ र आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ ? साधारण देखिने व्यक्ति पनि जब असाधारण कुरा गर्छ तब सबै उसलाई हेरिरहन, सुनिरहन बाध्य हुन्छन् । कतिपय मानिस तिनका सकारात्मक कुराकानीका कारण नै परिचित हुन्छन्, स्मरणीय बन्न पुग्छन् । फेसनेबल पहिरन लगाउँदैमा व्यक्तित्वमा निखार आउँदैन, व्यक्तिको भाषा र विचारमा पनि नयाँपन आवश्यक छ । सधैं खुसी रहने र अरूलाई हँसाउने व्यक्तिलाई चाँडै बिर्सन सकिँदैन ।
हरेक दिन अन्तिम
स्टिब जब्सले आफ्नो एउटा भाषणमा भनेका थिए, ‘तपाईं हरेक दिन यसरी बाँच्नुहुन्छ, मानौं त्यो दिन तपार्इंको अन्तिम दिन हो, तब एक दिन तपाईं सही स्थानमा पुग्नुहुनेछ ।’ उनी सबैलाई मृत्युसँग डराउनुको साटो आफूसँग जुन समय छ त्यसलाई आफ्नो तरिकाबाट खुलेर जिउनुपर्ने सल्लाह दिन्छन् । यसबाट व्यक्ति खुलेर बाँच्न पाउँछ । यसबाट हरेक दिन केही नयाँ गर्न सकिन्छ । जीवन एकपटक मात्र पाइन्छ त्यसैले हरेक क्षण अमूल्य छ । अनावश्यक सोचविचारमा समय बर्बाद गर्नुको साटो जीवनको हरेक क्षण आत्मविश्वासपूर्ण, धैर्यशील, लगनशील, सकारात्मक एवं आशावादी भएर बाँच्नुपर्छ ।
श्रोत: नारी ।

0 comments
Write Down Your Responses