एण्ड्रोइड प्रयोगकर्ताको लागी अति महत्वपुर्ण टिप्स ।
असार २३-२०७३, पोखरा ।
स्मार्टफोन बजारको दुईतिहाइ हिस्सा एन्ड्रोइड अपरेटिङ सिस्टमले लिएको छ । सामान्य भाषामा भन्दा विश्वमा अहिले जति पनि स्मार्टफोन चलेका छन्, तीमध्ये दुईतिहाइमा एन्ड्रोइड अपरेटिङ सिस्टम छन् । धेरै फोन निर्माता कम्पनीले गुगलले बनाएको एन्ड्रोइड अपरेटिङ सिस्टमलाई आफ्नो फोनमा प्रयोग गरेका छन् । यसमा ठूला कम्पनी सामसुङ, एलजीदेखि ह्वावे, जियोनीसम्म छन् ।
एन्ड्रोइड फोनको फिचर सुविधायुक्त र प्रयोगकर्ता–मैत्री भएकैले पनि होला, धेरैले यसलाई मन पराएका छन् । एन्ड्रोइड अपरेटिङ सिस्टम भएको फोनको डिभाइस बिग्रिएको पक्षबाहेक यसमा हुन सक्ने सफ्टवेयरका समस्या प्रयोगकर्ता आफैँले फिक्स गर्न सक्छन् । यसका लागि सधैँ मोबाइल मर्मत केन्द्र धाइरहनु पर्दैन । प्रयोगकर्ताले सामान्य जानकारी राखे मात्रै पनि धेरै पैसा र समय वचत हुन सक्छ साथै झन्झट पनि कम हुन्छ । एन्ड्रोइड फोनमा धेरैजसो प्रयोगकर्ताले भोग्ने समस्या र तिनलाई समाधान गर्ने उपायबारे यहाँ उल्लेख गरिएको छ :
एप क्र्यास हुने:-
फोनमा कुनै एप चलाइरहँदा त्यो पटक–पटक आफैँ बन्द हुने समस्या धेरैले भोगेका छन् । यो सामान्य समस्या हो । यसमा धेरै टाउको दुखाइरहनुपर्ने आवश्यकता छैन । एपको क्याचे क्लियर नभएर यस्तो समस्या भएको हुन सक्छ ।
फोनको होम बटनमा दुई सेकेन्ड क्लिक गरेपछि देखिने विभिन्न एपको ओभरभ्युमध्ये त्यो पटक–पटक बन्द भएको एपमा क्लिक गरेर त्यसलाई दायाँ वा बायाँ स्लाइड गरेर हटाउन सकिन्छ । यति गर्दा पनि बन्द हुने समस्या समाधान भएन भने सेटिङभित्र एप म्यानेजरमा गएर त्यो एपमा क्लिक गरेर त्यहाँ भएको क्लियर क्याचे बटनमा क्लिक गरेर एपको क्याचे क्लियर गर्न सकिन्छ । यति गर्दा सम्भवत: समस्या समाधान हुन्छ । भएन भने एकचोटि फोन स्वीचअफ गरेर अन गर्ने वा त्यतिले पुगेन भने त्यो एपलाई अनइन्स्टल गरेर पुन: इन्स्टल गर्न सकिन्छ ।
कनेक्ट हुन समस्या हुने:-
एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले भोग्ने अर्को साझा समस्या भनेको बेला पासवर्ड सेभ भएको वाईफाईमा कनेक्ट हुन समस्या हुने पनि हो । त्यस्तै, ब्लुटुथमा पेयर भएको डिभाइसलाई नदेखाउने समस्या पनि हुने गर्छ । वाईफाई कनेक्ट नहुने समस्याबाट बच्न फोनलाई केहीबेरमा एयरप्लेन मोडमा राख्दा पनि समस्या समाधान हुन सक्छ । वा, सेटिङभित्र कनेक्सनमा गएर कनेक्ट हुन नमानेको वाईफाईलाई ‘फरगेट गरेर’ पुन: पासवर्ड राख्दा यो समस्या समाधान हुन्छ । यति गर्दा पनि भएन भने वाईफाई राउटरमा कुनै समस्या हुन सक्छ । चेक गर्नु राम्रो हुन्छ । ब्लुटुथमा पहिल्यै पेयर भएको डिभाइस नदेखाएमा डिभाइस लिस्टबाट त्यसलाई हटाएर पुन: पेयरिङ गरे समस्या समाधान हुन्छ ।
ब्याट्री चाँडै सकिने:-
स्मार्टफोनको समस्या भनेको यसमा धेरै चाँडो ब्याट्री सकिन्छ । सामान्यत: स्मार्टफोनको ब्याट्री एक दिनलाई पुग्ने खालको हुन्छ, त्यो पनि धेरै वाईफाई नचलाए र गेम नखेले । तर, एन्ड्रोइड फोनमा बिनाकारण ब्याट्री सकिने कारणले पनि धेरै प्रयोगकर्ता हैरान हुन्छन् । यदि ब्याट्रीमा समस्या छैन भने यो एपको कार णले भएको हुन सक्छ । एन्ड्रोइड स्मार्टफोनमा सेटिङभित्र ब्याट्रीमा गएर कुन एपले कति ब्याट्री खपत गरिरहेको छ भन्ने सजिलै हेर्न सकिन्छ । त्यसैले ब्याट्री चाँडै सकिने समस्या भएमा ब्याट्री अप्सनभित्र गएर ब्याट्री धेरै खपत गर्ने एपहरू हटाउँदा राम्रो हुन्छ ।
यी समस्या धेरै स्मार्टफोन प्रयोगकर्ताका साझा समस्या हुन् । यीबाहेक अन्य समस्या पनि देखिन सक्छन् । भनिन्छ, एन्ड्रोइड फोनको धेरै समस्या फोन स्वीचअफ गरेर अन गर्दा हल हुने खालको हुन्छ । प्रयोगकर्ताले आफूलाई थाहा नपाएको समस्या आएमा फोनलाई रिबुट गर्नु उपयुक्त हुन्छ । यसो गर्नुभन्दा पहिले फोनबाट मेमोरी कार्ड झिक्नुपर्छ, जसले गर्दा मेमोरी कार्डमा भएका डाटा सुरक्षित हुन्छन् । रिबुट गर्दा फोन किन्दा जस्तो अवस्थामा थियो, त्यस्तै अवस्थामा पुग्छ । यसले फोनको डाटा सबै मेटाउँछ । रिबुट वा रिसेट अप्सन सेटिङभित्र हुन्छ । यो भनेको अन्तिम अप्सन हो । यति गर्दा पनि फोनको समस्या समाधान नभए यसको हार्डवेयरमा गडबडी भएर समस्या आएको हुन सक्छ ।

0 comments
Write Down Your Responses