३३ करोड भन्दा बढीको कन्डम एउटा नाकाबाट मात्रै आयात हुन्छ: जम्मा कति होला ???



श्रावण २८, २०७३- स्वदेशमा उत्पादन नहुने र बर्षेनी माग बढिरहेको पुरुष गर्भनिरोध साधन कन्डम आयातबाट मात्र गत आर्थिक बर्षमा ठूलो रकम बिदेशिएको छ । वीरगंज भन्सारका अनुसार, गत आर्थिक बर्ष यस नाकाबाट  मात्र ३३ करोड ५० लाख १७ हजार रुपैयाँ बाहिरिएको छ । 

        उक्त अवधीमा ४ लाख ३ हजार २ सय ९५ किलो बिभिन्न ब्रान्डका कन्डम आयात गरिएको थियो । अघिल्लो आर्थिक बर्षमा पनि ३१ करोड १६ लाख ४७ हजार रुपैया बराबरका ८ लाख ८१ हजार ३ सय ५६ किलो आयात भएको थियो । मुलुकका अन्य नाकाबाट पनि यसको आयात ठूलो परिमाणमा हुने गरेको बताइएको छ ।
  
         कण्डम बढी जसो भारत र चीनबाट आयात हुने गरेकाछन् । नेपाल सरकार अधिनस्थ सिआरएस कम्पनीले अमेरिकामा निर्मित प्यान्थर (ढाल) ब्राण्ड आयात गर्छ । निजी क्षेत्रले पनि ग्राहकको रुची अनुसारको बिभिन्न ब्राण्डका आयात गर्छन् । आयात गर्दा भन्सार छुट सुविधा दिइएकाले पनि आयात प्रोत्साहित भएको हुन सक्ने वीरगंज भन्सारका प्रवक्ता लोकराज पन्त बताउँछन् । कन्डम आयात गर्दा जति सुकै परिमाणमा आयात गरे पनि प्रतिइन्भ्वाइस (बिल) ५ सय रुपैयाँ भन्सार सेवा दस्तुर र ६५ रुपैयाँ मूल्य अभिवृद्धी कर गरी जम्मा ५ सय ६५ रुपैयाँ मात्र लाग्ने उनले बताए । 

           नारायणी उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट एवम् चर्म तथा यौन रोग बिभाग प्रमुख डा अतुलेश चौरसिया कन्डमको प्रयोग र व्यापकताले यौन तथा चर्मरोग घट्ने र जनसंख्या वृद्धीको चापलाई सन्तुलनमा राख्ने बताउँछन् । यसको आयात र माग बर्षेनी बढ्नुले नेपाली समाजमा पनि प्रयोग र व्यापकता बढ्दै गएको अनुमान गर्न सकिने उनी बताउँछन् । यौन सम्पर्क बाहेक अन्य प्रयोजनमा प्रयोग नहुने भएकाले विवाहित तथा अविवाहित जोडी माझ यसको प्रयोग बढेको र नेपाली समाज पनि आधुनिकतातर्फ बढ्दै गएको अनुमान गर्न सकिने डा. चौरसिया बताउँछन् ।

           कन्डम विश्वव्यापी रुपमै सस्तो मूल्यमा पाइने सहज पुरुष गर्भ निरोधक भएकाले यसको प्रयोग व्यापक भएको हुन सक्ने उनको तर्कछ । पछिल्लो २ दशक यता विश्वस्तरमै एचआइभि तथा अन्य अन्य यौन रोगहरु पनि देखिन थालेपछि गर्भनिरोधक मात्र नभई यौन रोगबाट बच्नका लागि पनि कन्डमको प्रयोग व्यापक रुपमा हुन थालेको डा. चौरसिया बताउछन् ।

,

0 comments

Write Down Your Responses