गोताखोर टोलीले पनि भेटाएनन पूर्वमन्त्रीको शब र गाडी: घटना झनै रहस्यमय बन्दै !
काठमाडौं – दारेचोक ३ स्थित घोप्टेभीरबाट ९ दिनअघि त्रिशूलीमा बेपत्ता पूर्वमुख्य सचिव तथा गृहमन्त्री माधवप्रसाद घिमिरे र उनी चढेको गाडी अझै फेला पर्न सकेको छैन । गाडीमा सवार उनीसहित अन्य २ जनाको अवस्था अझै अज्ञात छ । खोजीका लागि कैलालीबाट ५ जना गोताखोर टोली आएको छ । टोलीले घटनास्थलमा गाडी नभएको दाबी गरेको छ ।
‘नदीभित्र २०/२५ फिट तल पुगेर टोलीले हेर्यो,’ खोजीमा संलग्न सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका एसपी गणेश थापाले गोताखोरलाई उद्धृत गर्दै भने, ‘जहाँ गाडी खसेको छ त्यहींबाट बालुवा निकालेर देखाए, यसले घटना भएको ठाउँमा गाडी छैन भन्ने देखाउँछ ।’ टोलीले २ दिन लगाएर पानीभित्र खोजी गर्दा गाडी फेला नपरेको उनले बताए । ठूला नदीहरूमा पुल निर्माण गर्दा नदीभित्र पसेर काम गर्ने अनुभवी गोताखोर टोली आएर खोजी गरेको हो । टोलीले २ दिन नदीमुनि डुबेर गाडीको खोजी गरेको थियो ।
गाडी दुर्घटना परेदेखि खोजी कार्य रोकिएको छैन । खोजीमा आवश्यक पर्ने सबै उपकरणको प्रयोग गर्दा समेत गाडी फेला पर्न सकेन । अन्डर वार्टर क्यामेरा, सोनार, हुक, क्रेन प्रयोग गर्दा पनि गाडी फेला पार्न नसकिएको हो । खोजीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सेना अझै सक्रिय छन् । सम्भावित ठाउँहरूमा सुरक्षाकर्मी परिचालन गरेर खोजी कार्य जारी राखे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । पानी धमिलो छ । घटना भएको ठाउँमा पानीको करेन्ट बढी छ । जसले गर्दा खोजीमा कठिनाइ हुने गरेको छ ।
‘हामीले घटनास्थलबाट जुगेडीसम्म बोटमा खोजी सुरु गरेका छौं,’ थापाले भने, ‘घटना भएको ठाउँमा पनि टोली बस्ने गरेको छ ।’ यो ठाउँबाट एउटा ग्यास बुलेट, एउटा मालवाहक ट्रक खसे तर तिनमा सवार व्यक्ति र साधनको अझै अत्तोपत्तो छैन । गाडी नदीमा डुब्छन् तर फेला पर्दैनन् । फेला परेका गाडीलाई निकाल्न साधन हुँदैन । नदी गहिरो भएकाले डुब्नेबित्तिकै सवारी साधन फेला पर्दैनन् । अप्ठ्यारो ठाउँमा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेका छन् ।
ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरेर खोजी कार्य जारी राखेको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए । ‘तर घटना भएको लामो समय बित्दा समेत फेला पार्न सकिएन,’ उनले भने । उनका अनुसार दैनिक ७० भन्दा बढी सुरक्षाकर्मी खोजीमा खटिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments
Write Down Your Responses