घरभित्रै बिश्वासको कमी: देउबाद्वारा आफ्नै तिन नेतालाई ओलीसंग भेट्न प्रतिबन्ध ।


७ साउन २०७३, हिमालय टाइम्स ।

          काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्लै भेट्न कांग्रेस नेताहरुलाई प्रतिबन्ध लगाएका छन् । कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको सहमति प्रधानमन्त्री ओलीले भत्काउन सक्ने आशंकामा सभापति देउवाले कांग्रेसका तीन नेतालाई एक्लै नभेट्न निर्देशन दिएका छन् । 

         प्रधानमन्त्री ओलीलाई एक्लै भेट्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्धय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई प्रतिबन्ध लगाएको छ । ओलीले विभिन्न बहानामा माओवादीसँग भएको सहकार्य तोड्न सक्ने आंकलन गरेपछि देउवाले यस्तो निर्देशन दिएको उनी निकट स्रोतले बताएको छ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र नेता पौडेललाई छुट्टा–छुट्टै टेलिफोन गरी प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । देउवा र पौडेलले ‘प्रस्ताव गर्न ढिला भयो’ भन्दै जवाफ दिएका थिए । तर पनि प्रधानमन्त्रीले कांग्रेसमा खेल्न नछाडेको आंकलन देउवाको छ ।

             चार दिनअघि प्रधानमन्त्री ओलीले कांग्रेस नेता पौडेललाई टेलिफोन गरी बालुवाटार बोलाएका थिए । तर सभापति देउवाले एक्लै भेट्न प्रतिबन्ध लगाएपछि उनी बालुवाटार जान सकेनन् । ‘म आउन चाहान्थे तर देउवाजीले मलाई वाच गरिरहनु भएको छ’ प्रधानमन्त्रीलाई पौडेलले जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले पौडेल लगाएत सिटौला र प्रकाशमानलाई पनि टेलिफोन गरेका थिए । दुवै जनाले आफुहरु माओवादीसँग भएको सहमतिको पक्षमा नभएपनि पार्टी निर्णय मान्य बताएका थिए ।

              प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरुलाई टेलिफोन गर्ने गरेको कुरा कांग्रेस केन्द्रीय समितिको बैठकमा पौडेलले जानकारी पनि दिएका थिए । पौडेलले आफु, सिटौला र प्रकाशमानलाई ओलीले निरन्तर टेलिफोन गरिरहेको जानकारी दिएका थिए । तत्कालै देउवाले एक्लै नभेट्न निर्देशन दिएको बैठकमा सहभागि कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

0 comments

Write Down Your Responses