प्रम प्रचण्डको पहिलो तलब धुर्मुस सुन्तली फाउन्डेसनलाई



भाद्र १, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो महिनाको तलब सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत वस्ती निर्माणको नेतृत्व गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई दिने भएका छन् ।

फाउण्डेसनका संस्थापक दम्पती सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सँग बुधबार बिहान भएको भेटमा प्रधानमन्त्रीले पहिलो महिनाको तलब दिने घोषणा गरेका हुन् ।

नयाँ आर्थिक वर्षमा २५ प्रतिशत बृद्धि भएसँगै प्रधानमन्त्रीको तलब ७७ हजार २ सय ८० रुपैयाँ छ ।

भेटका लागि प्रधानमन्त्री कार्यालयले तीन दिनअघि नै धुर्मुस–सुन्तलीलाई बालुवाटार बोलाएको थियो । जतिबेला उनीहरु गिरान्चौरमा पिल्लर हालिरहेका थिए ।

बिहान साढे ८ बजे बालुवाटार पुगेका धुर्मुस–सुन्तलीको अभियानप्रति प्रधानमन्त्रीले प्रशंसा गरेका थिए ।

भेटमा प्रधानमन्त्रीले तपाईंहरुलाई केही आवश्यकता छ कि भनेर सोधेका थिए ।

‘वस्तीमा बिजुली, पानी र ग्रावेल बाटो पुर्‍याएका छौं,’ धुर्मुसले प्रधानमन्त्रीलाई भनेका थिए, ‘अब सरकारले बाटो पिच गरिदियोस् ।’

धुर्मुस–सुन्तलीले आफूहरु पुनर्निर्माणका लागि व्यक्तिगत स्वार्थ त्यागेर डेढ वर्षदेखि काम गरिरहेको बताउँदै पुनर्निर्माणमा सरकारी उपस्थिति ज्यादै कमजोर रहेको बताएका थिए ।

काभ्रेको नमूना पहरी वस्ती निमाण गरेका उनीहरुले दोस्रो चरणमा गिरान्चौर एकीकृत नमूना वस्ती निर्माण गरिरहेका छन् । धुर्मुसका अनुसार गिरान्चौर वस्ती बालमैत्री, अपांगततामैत्री, वातावरण मैत्री हुनुका साथै होम स्टे सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण गरिएको छ ।

चार कोठे घर मौलिक खालका छन् । सिटी प्लानिङअनुसार घर निर्माण गरिएको छ । प्रधानमन्त्री दाहालले आफू पनि वस्ती भ्रमणमा आउने आश्वासन दिएका छन् ।

धुर्मुसले पुनर्निर्माण प्राधिकरणको केन्द्रीय संरचना भए पनि जिल्लासम्म पुग्न नसकेको बताएका थिए । ‘केन्द्रमा सीईओमात्रै भएर हुँदैन,’ भेटमा प्रधानमन्त्रीसँग धुर्मुसले भनेका थिए, ‘जिल्लामा पनि सीईओ नियुक्त गर्नुपर्छ ।’

जिल्लामा नियुक्त हुने प्रमुखलाई निश्चित समय तोकेर पुनर्निर्माणको जिम्मा दिनुपर्ने र समयमै र उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्नुपर्ने धुर्मुस–सुन्तलीले सुझाव दिएका थिए ।

भेटमा उनीहरुले सुशील कोइराला सरकारले आफूहरुलाई सरसफाई दूत नियुक्त गरे पनि कुनै अधिकार नदिएको बताएका थिए ।

0 comments

Write Down Your Responses