यसरी शुरु भयो घरमा कुश राख्ने चलन !



          हिन्दू धर्म संस्कृतिअनुसार आफ्ना मातापिता नहुनेले हरेक औँसीमा श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । तर, हरेक औँसीमा श्राद्ध गर्नु सधैँ सबैलाई सम्भव नहुन पनि सक्छ । सोही कारण औँसीमा एक छाक मात्र खाएर मातापितालाई श्रद्धासाथ सम्झने प्रचलन पनि छ । आफ्ना मातापिता जीवित हुनेहरूले मातातीर्थ औँसीका दिन आमालाई र कुशेऔँसीमा बुबालाई विशेष सम्मान प्रकट गर्छन् । त्यसो त आफ्ना मातापितालाई हरेक दिन सम्मान तथा आदर गर्नु हिन्दू परम्परा नै हो । तर, कुशेऔँसीमा टाढा भएका छोराछोरी पनि आफ्ना पितालाई भेट्न आइपुग्छन् । उहाँलाई मनपर्ने परिकार तथा विभिन्न उपहार दिने प्रचलन पनि छ । कुशेऔँसीको दिन बुबाको मुख हेर्ने भन्ने चलन शास्त्रमा उल्लेख गरिएको छैन । 

           नेपालमा पहिला काठमाडौं उपत्यकाका नेवार समुदायमा मात्र यस्तो प्रचलन थियो । नेवार समुदाय जताजता फैलिँदै गयो, सो स्थानमा बुबाको मुख हेर्ने संस्कृति पनि फैलन थाल्यो । राम्रो संस्कृति पनि भएकाले अहिले नेपालमा सबै जातजाति तथा संस्कृति मान्नेले कुशेऔँसीलाई बुबाको सम्मान गर्ने पर्वका रूपमा मनाउन थालेका छन् । यो प्रचलन भारतीय हिन्दूहरूमा रहेको पाइँदैन । किन राखिन्छ घरमा कुश ? कुशेऔँसीका दिन काटिएको कुश वर्षभरि नै शुद्ध हुन्छ भन्ने मान्यता छ । सोही कारण यो दिन काटिएको कुशलाई घरमा राख्ने प्रचलन पनि छ । शास्त्रअनुसार अन्य औँसीमा काटेको कुश महिनाभरि शुद्ध रहन्छ भने अन्य दिन काटिएको कुश दिनभर मात्र शुद्ध हुन्छ । कुशलाई घरमा राख्दा चट्याङ नलाग्ने तथा नकारात्मक ऊर्जालाई पनि नियन्त्रण गर्ने मान्यता छ । कुश वनस्पति भए पनि यसमा धेरै औषधीय गुण रहेको पाइन्छ । सोही कारण आयुर्वेदले पनि कुशलाई धेरै ओषधिको कच्चा पदार्थको रूपमा लिएको पाइन्छ । घरमा पनि कुशको आशनमा बस्दा उच्च रक्तचापलगायत धेरै रोग नियन्त्रण गर्छ । सोही कारण पनि कुशलाई धार्मिक मान्यता दिएर हरेक घरमा अनिवार्य राख्न लगाइएको हुनसक्छ ।

0 comments

Write Down Your Responses